रुपन्देहीमा भेप तस्करी : चार जनाविरुद्ध मुद्दा दायर
रुपन्देही । रुपन्देहीमा इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। आरोपीहरूले गैरकानुनी ढंगले भेप नेपाल ल्याई विभिन्न व्यवसायिक फर्महरूको नाममा बिल जारी गरी तस्करी गरेको आरोप छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलको गस्ती टोलीले ९० दिनअघि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाको सीमा क्षेत्र चरङ्गेबाट आरोपीमध्ये दुई जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो।
काठमाडौंको डाइमण्ड इन्टरनेशनलका प्रोपाइटर सुमन पराजुली, हसिमुन जोलाह, रोजन न्यौपाने र सनाउल्ला अंसारीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा अभियोग पत्र दायर गरिएको हो। आरोपीहरूले काठमाडौंको डाइमण्ड इन्टरनेशनलको नाममा बिल प्रयोग गरी नेपालगन्जको तशनिम जनरल स्टोरबाट भेप बेचेको देखाएका थिए।
अनुसन्धानका अनुसार, आरोपीहरूले भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगन्ज लैजाँदै गरेको अवस्थामा १०० वटा भेपको बिल काटेर २ हजार ६ सय वटा भेप ढुवानी गरेको पत्ता लागेको छ। काठमाडौंबाट १०० वटा भेपको बिल काटेर नेपालगन्जबाट सीमापार गरी महँगोमा बेच्न भारततर्फ तस्करी गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेकराज घिमिरेका अनुसार, आरोपीहरूले राजस्व चुहावट गरेको कसुरमा अनुसन्धान गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको हो। आरोपीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ को उल्लंघन गरेको आरोप छ।
आरोपीमध्ये सुमन पराजुली र हसिमुन जोलाहलाई ६२ लाख ७१ हजार ६ सय ७६ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम मालवस्तु जफत गर्न माग गरिएको छ। यसका साथै दुवै जनालाई ६२ लाख ७१ हजार ६ सय ७६ रुपैयाँ जरिवाना गर्न पनि माग गरिएको छ।
अन्य आरोपी रोजन न्यौपाने र सनाउल्ला अंसारीले मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूको दुरुपयोग गर्दै राजस्व चुहावटको कसुर गरेको आरोप छ। उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
राजस्व अनुसन्धान कार्यालयले आरोपीहरूले कानूनी प्रक्रिया पूरा गरी भन्सार गरेर ल्याउँदा ४० प्रतिशत भन्सार, ४० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ९३ प्रतिशत राजस्व बुझाउनुपर्ने भएकोले तस्करहरूले कर छल गर्नेतर्फ लागेको बताएको छ।
यसअघि पनि राजस्व अनुसन्धान विभागले विभिन्न ठाउँबाट एक लाखभन्दा बढी भेप बरामद गरी कारबाही गरेको थियो। भेप तस्करीमा अनुचित तथा गैरकानुनी फाइदा धेरै रहेको कारण यसमा आकर्षण बढेको राजस्वका अधिकृतहरूको आशंका छ। आरोपीमध्ये केही फरार रहेको र उनीहरूलाई सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्