तपाईँ सुन्दै हुनुहुन्छः

निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा निकासी पैठारी नियमन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ । 

विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा लगानी प्रवद्र्धन तथा नेपाली उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि सरकारले प्रस्तुत विधेयक ल्याएको बताउनुभयो । 

छलफलमा सांसदहरुले सरकारको बढ्दो व्यापार घाटा नियन्त्रणका लागि स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने, भन्सार विन्दुहरू व्यवस्थित बनाउनुपर्ने र खुल्ला सीमानाबाट हुने चोरी निकासीको नियन्त्रणका लागि निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । 

यस्तै प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाई  दिपक खड्काले मन्त्रिपरिषद्को स्वीकृतिमा गर्नुपर्ने कामहरू समेत आँफु खुसी गरेका कारण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले कार्यसम्पादन मूल्याङ्कनको स्थापित विधिको पालना नगरेको र मन्त्रालयले पटक पटक समय सीमा तोक्दा समेत आवश्यक कागजात पेश नगरेको मन्त्री खड्काले बताउनुभयो ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले उठ्न बाँकी बक्यौतालाई समेत आम्दानीमा देखाएर नाफामा रहेको देखाए पनि वास्तविकता भने त्यस्तो नरहेको सदनलाई जानकारी गराउनुभयो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकको सुरुमा सांसद रामहरि खतिवडाले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत आएका सहयोग तथा लगानीहरूको  यथार्थ विवरण जानकारी गराउन माग गर्नुभयो ।

सांसद खतिवडाले सरकारका जिम्मेवार व्यक्ति तथा राजनीतिक दलका नेताहरूलाई  प्रश्न सोधेकै आधारमा पत्रकारको प्रेस पास खोस्नुले लोकतन्त्रमाथि नै खतरा निम्तन सक्ने धारणा समेत राख्नुभयो ।

यस्तै सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट नेपालीहरूलाई अमर्यादित तरीकाले  फिर्ता गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुहुँदै विदेशमा रहेका नेपालीहरूको सुरक्षा र स–सम्मान स्वदेश फिर्ता हुने वातावरण बनाउन परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय सेल गठन गरी पहलकदमी लिन आग्रह गर्नुभयो ।

सांसद लालप्रसाद सावा लिम्बुले झापाको शिवसताक्षी नगरपालिकामा रहेको क्याम्ब्रिज बोर्डिङ स्कुलमा रोकेर राखेको स्कुल बस जलेर नष्ट भएको घटनाको सत्य तथ्य खोजी गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हरि ढकालले खाना पकाउने एलपी ग्यासमा व्यवसायीको माग बमोजिम कमिसन शुल्क बढाउन स्वीकृति दिँदा जनता महँगीको मारमा परेको र सरकारले सरकारले आम नागरिकका समस्या नबुझेको टिप्पणी गर्नुभयो ।

सांसद माधव सापकोटाले शिक्षकहरूका जायज माग पुरा गरी अध्ययन–अध्यापनको मर्यादित वातावरण तयार गर्न माग गर्नुभयो ।

यस्तै सांसदहरुले बाढीपहिरो पीडितको बसोबासका लागि सुरक्षित जमिन उपलब्ध गराउन, देशका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्या समाधानको व्यवस्था मिलाउन, मेलम्ची खानेपानी आयोजनाका पाइपहरू बारम्बार फुट्ने समस्या समाधानका लागि पाइपको गुणस्तर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २३ गते शुक्रबार दिनको १ः०० बजे बस्ने छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button