प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद रामहरि खतिवडाले एनजीओ आइएनजीओमार्फत आएका सहयोग तथा नेपालका विभिन्न क्षेत्रमा भएको लगानीको यथार्थ विवरण जानकारी गराउन माग गर्नुभयो ।
सांसद खतिवडाले संसदमा पत्रकारले प्रश्न सोधेकै आधारमा प्रेस खोस्ने हो भने लोकतन्त्रमाथि नै खतरा हुनसक्ने धारणा समेत राख्नुभयो ।
सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट हालै १० जना र केही समय अघि २५ जना गरी ३५ जना नेपालीहरूलाई अमर्यादित तरीकाबाट फिर्ता गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरूको सुरक्षाका निम्ति र ससम्मान फिर्ता गर्ने वातावरण तयार गर्न सरकारले तुरुन्तै परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय सेल गठन गरेर पहलकदमीको लागि गम्भीर हुन आग्रह गर्नुभयो ।
सांसद लालप्रसाद सावा लिम्बुले झापाको सिवसताक्षी नगरपालिकाको क्याम्ब्रिज बोर्डिङ स्कुलको प्राङ्गणमा रोकेर राखिएको अवस्थामा बस जलेर नष्ट भएको विषयमा सत्य तथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद हरि ढकालले एलपी ग्यासमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै सरकारले आम नागरिकको समस्या नबुझेको टिप्पणी गर्नुभयो ।
सांसद माधव सापकोटाले शिक्षकहरूका जायज माग पुरा गरी मर्यादित रुपमा अध्यापन गर्ने वातावरण तयार गर्न माग गर्नुभयो ।
यस्तै सांसदहरुले सरकारले जोखिम बस्ती र बाढी पहिरोका पीडितहरूका बस्तीयोग्य जमिनको व्यवस्था मिलाउनुपर्ने, खानेपानी समस्या समाधानका लागि अविलम्ब व्यवस्था मिलाउनुपर्ने, मेलम्ची खानेपानी आयोजनाका पाइपहरू बारम्बार फुट्ने समस्या समाधानका लागि पाइपको गुणस्तर परिक्षण गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्