पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना

बागलुङ । पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार बागलुङस्थित गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा पूजापाठ गर्नुभएको छ । बुधबार दिउँसो साढे १ बजे कालिका मन्दिर पुग्नुभएका शाहले करिब २० मिनेट पूजाअर्चना गर्नुभयो ।
कालिका मन्दिरको गेटदेखि मन्दिरसम्म पैदलै पुग्नुभएका शाहलाई नागरिकहरूको भीडले माला, खादा र पुष्पगच्छाले स्वागत गरेको थियो । पुर्वराजाको स्वागतमा उपस्थित सहभागीले राजसंस्थाको समर्थनमा नाराबाजी गर्दै देश बचाउन आग्रह पनि गरेका थिए । पूर्व राजा भने केवल पूजापाठ गरेर मात्र म्याग्दी प्रस्थान गर्नुभयो । उहाँले राजावादीले बोल्न आग्रह गरेपनि केही बोल्न भने मान्नुभएन । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।
पोखरादेखि गाडीमा आउनुभएका शाहले बागलुङ कालीका मन्दिरमा पूजापाठ गरेपछि म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर प्रस्थान गर्नुभएको छ । २०७८ सालमा पनि शाह धार्मिक भ्रमणको क्रममा बागलुङ कालीका मन्दिर आउनुभएको थियो । त्यतिबेला भने कालीका मन्दिरदेखि बागलुङ बजारसम्म नागरिक अभिनन्दन गरिएको थियो ।
पुर्वराजाको भ्रमण धार्मिक र व्यक्तिगत भएको विश्व हिन्दु महासङ्घ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेले जानकारी दिनुभयो । पूर्व राजालाई स्वागत गर्ने र समितिको तर्फबाट बिन्ती चढाउने काम भएको लामिछानेले बताउनुभयो । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले पूर्व राजा लाई अभिनन्दन समेत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्