ढलको पानी ट्रिटमेन्ट प्लान्टमार्फत प्रयोग योग्य
पाल्पा । तानसेन नगरपालिका वार्ड-१ भुसलडाँडा क्षेत्रको बस्ती र युनाईटेड मिसन अस्पतालबाट निस्किएको फोहर तथा ढलको पानी ट्रिटमेन्ट प्लान्टमार्फत प्रयोग योग्य बनाइएको छ ।
अस्पतालबाट निस्किएको फोहोरयुक्त पानी र घरायसी प्रयोगपछि निस्किएको पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न प्रदूषित पानी उपचार संयन्त्र निर्माण गरिएको हो ।
नालीबाट बगिरहेको दुर्गन्धयुक्त फोहर पानी ट्रिटमेन्ट प्लान्टमार्फत सफा र सङ्लो पानी बग्न थालेको छ । ट्रिटमेन्ट प्लान्टबाट रिफाईन भएको पानी खेतबारी, दमकलमा प्रयोग गर्न, निमार्णको काम तथा लुगा धुन समेत मिल्ने युनाईटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । भुसलडाँडा क्षेत्रबाट आएको फोहोर पानी र अस्पताल क्षेत्रबाट आएको फोहोर पानीको छुट्टाछुट्टै पाइप लाइनसँगै सेफ्टी तथा सफा पानी टङ्की निर्माण गरिएको छ । सङ्कलित फोहर पानीलाई तीन स्टेपमा अत्याधुनिक अटोमेटिक प्रविधिबाट रिफाईन गरि तीनवटा टङ्की मार्फत प्रयोग योग्य बनाइएको छ ।

रोटरी इन्टरनेशनलको करिब ४ करोड २२ लाख लागतमा निर्मित उक्त परियोजना रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजुले युनाईटेड मिसन अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । रोटरी इन्टरनेशनलको सहयोगसँगै जिल्लाका सम्पूर्ण सरोकारवालाहरूको सहयोगकै कारण परियोजना सम्पन्न गरिएको क्लबका अध्यक्ष भीमबहादुर श्रेष्ठले बताउनुभयो ।

युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखले क्लबले अस्पताललाई परियोजना हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै परियोजनाको सही उपयोग गर्ने बताउनुभयो । रोटरी इन्टरनेशनलले जिल्लामै नमूना परियोजना सञ्चालन गरेको र त्यसको प्राथमिकतामा भुसलडाँडा क्षेत्र परेकोमा तानसेन १ भुसलडाँडाका वार्ड अध्यक्ष सुनिल बस्यलले क्लबलाई धन्यवाद दिनुभयो । उहाँले फोहर ढलकै कारण लामखुट्टेबाट विभिन्न रोग लाग्ने हुँदा दुर्गन्ध र रोग दुबैबाट बच्न यहाँका स्थानीयलाई सहयोग मिल्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्