तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मनहरी (मकवानपुर) । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

आज  मनहरी–७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर–१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते हुनुभएको छ ।

टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button