तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा वषौँदेखि बाझिएको जग्गामा केरा खेती गर्न सुरु

गुल्मी । गुल्मीमा वषौँदेखि बाझिएको जग्गामा स्थानीय जातको केरा खेती गर्न थालिएको छ । 

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को सेउघाको थुक्का टोलमा करिब ३२ वर्षदेखि बाझिएको जग्गामा केरा खेती गर्न थालिएको हो ।

भगवती कृषि फर्मले २० रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेती गर्न थालेको सञ्चालक झबी पाण्डेले बताउनुभयो । पहिलो चरण ३ सय बोट केरा लगाइएको छ । आउँदो वर्ष स्थानीय जातको ५ सय बोट केरा लगाउने पाण्डेले बताउनुभयो । बाझिएको जग्गामा केरा खेती गरेर गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आकर्षण गराउने उहाँको भनाई छ ।

पाण्डेले करिब ५ वर्ष पहिलेदेखि भगवती कृषि फर्म दर्ता गरेर तरकारी खेती गर्दै आउनुभएको छ । तम्घासमा खाद्यान्नको थोक बिक्रेताको रुपमा व्यवसाय गर्दै आउनुभएका पाण्डेले बचेको समयलाई सदुपयोग गरेर आफ्नै गाउँमा कृषि पेसा पनि गर्दै आउनुभएको छ ।

उहाँले गरेको कृषि फर्ममा केहीले रोजगारी समेत पाएका छन् । आफ्नै गाउँमा केही गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।

गाउँका युवा तथा अन्य कृषकलाई कृषि पेसामा टिकाइ राख्नको लागि आफूले अगुवा कृषकको रुपमा कृषि कर्मलाई पनि जोडेर काम गर्दै आएको पाण्डेले बताउनुभयो । मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर राम्रो आम्दानी हुँदै आएकाले केरा खेती तर्फ थप विस्तार गरेको उहाँले बताउनुभयो ।

बाँझो जग्गामा गर्न लागिएको केरा खेतीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, वडा नम्बर–४ का वडाअध्यक्ष लिलाधर आचार्य सहितको टोलीले अनुगमन गरेका छन् । अनुगमन पश्चात् नगरप्रमुख पन्थीले मिहिनेत गर्ने किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्दै आएको पन्थीले बताउनुभयो ।

बजारमा स्थानीय जातको केराको माग धेरै नै रहेको छ । खानका लागि स्वादिष्ट हुने भएकाले यसको मूल्य पनि राम्रो पर्ने गर्दछ । पछिल्लो समय गाउँगाउँमा बसाइसराइका कारणले जग्गा जमिन बाँझै हुने क्रममा पनि बढ्दै गएको छ । गुल्मी जिल्लामा अनेत्र जिल्लाबाट करोडौँ मूल्यको केरा आउने गरेको छ । यहाँ उत्पादन हुने केराले सामान्य पनि बजार धान्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button