अस्ट्रेलियाको एडिलेडमा ‘नेपाल महोत्सव’ हुँदै

काठमाडौँ । अस्ट्रेलियाको एडिलेडमा यही यही मार्च ९ तारिखमा मुलुक चिनाउने मेलाका रुपमा चिनिएको ‘नेपाल महोत्सव’को आयोजना हुँदैछ ।
अस्ट्रेलियामा मुलुक चिनाउने मेलाका रुपमा चिनिएको ‘नेपाल महोत्सव’ विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिखमा एडिलेडको एल्डर पार्कमा हुन लागेको हो।
मुलुकको कला संस्कृति र रहनसहन, खानपिनका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्य बोकेको एडिलेडको महोत्सवको तयारी लगभग पुरा भइसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सञ्जय पुरीले बताउनुभयो ।
एडिलेड महोत्सव मुख्य आकर्षणका रुपमा रहेको नेपालको कला संस्कृति र महत्त्वपूर्ण पर्यटकीयस्थल चिनाउने नेपाल हाउस निर्माणको काम तीव्र रुपमा अगाडी बढिसकेको बताउनुहुँदै संयोजक पुरीले आयोजनाका अन्य तयारी पनि लगभग पुरा भइसकेको जानकारी गराउनुभयो ।
अस्ट्रेलियामा जन्मेका हुर्केका नयाँ पुस्तासँगै अस्ट्रेलिया रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैव महोत्सवको केन्द्रबिन्दु बन्दै आएको छ ।
महोत्सवमा नेपाली परम्परागत बाजाहरू, ढिकी, जाँतो, मात्र नभएर हलो र जुवा समेत दर्शकहरूले अवलोकन गर्न पाउने छन् । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गे धारा, इनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षक रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रिय सचिव थिर गुरुङले बताउनुभयो ।
एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पञ्चेबाजा, मौलिक बाजासहित सांस्कृतिक बस्तुहरू प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रवर्धनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने अतिथि सत्कार संयोजक बिष्णु तिवारीले जानकारी दिनुभयो । एनआरएनका केन्द्रिय सदस्य समेत रहनुभएका संयोजक तिवारीले महोत्सवमा गत वर्षमा प्रदर्शनीभन्दा फरक र केही अलग महत्वका विषयहरू कुमारी, एक सङ्गे गैँडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्यलगायत समेत आकर्षकका रुपमा रहने बताउनुभयो ।
महोत्सवलाई यस पटक स्थानीय शैक्षिक परामर्शदाता बुमराङ इन्टरनेशनल एजुकेशन सेन्टरले फ्लीन्डर्स बिश्वबिद्यालयको सहकार्यमा मुख्य प्रयोजनको भूमिका निर्वाह गरेको छ । बुमराङका आशिष वाग्लेले नेपालीपन झल्काउने र नेपालीमन जोड्ने महोत्सवमा सहकार्य गर्न पाउनु आफ्नो लागि पनि खुसीको विषय रहेको बताउनुभयो ।
महोत्सवलाई साउथ अस्ट्रेलियन सरकार, नेपाल राजदूतावास र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ संस्था तथा व्यापारी घरानाहरूले पनि सहयोग गरेको एनआरएन साउथ अस्ट्रेलिया महिला संयोजक रिज्नु अधिकारीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्