जुम्लाको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ । जुम्ला, कालिकोट र मुगु ३ वटै जिल्लालाई सेवा उपलब्ध हुने गरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएको हो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप-महानिर्देशकसङ हिमामा यान्त्रिक कार्यालय स्थापनाका लागि माग गर्नुभएकाे थियाे । माग भएअनुसार आवश्यक पर्ने ८ रोपनी जग्गा गाउँपालिकाले उपलब्ध गराउन सकेमा छिटै यान्त्रिक कार्यालय स्थापना गर्न सकिने सडक विभागले जानकारी दिएको ।
आइतबार हिमा गाउँपालिकालाई परिपत्र गर्दै सडक विभागले भनेको छ, ” गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक र यान्त्रिक महाशाखाका उप-महानिर्देशक सँग छलफल गरी उक्त गाउँपालिकाको कुनै उपयुक्त स्थानमा यान्त्रिक कार्यालय, जुम्ला स्थापना गर्न अनुरोध भए बमोजिम मुगु, जुम्ला र कालीकोट ३ वटै जिल्लामा सहज ढङ्गले सेवा पुग्ने गरी सोही गाउँपालिका अन्तर्गत उचित स्थानमा जग्गा उपलब्ध भएमा यान्त्रिक कार्यालय त्यस क्षेत्रमा स्थापना गर्न सकिने ब्यहोरा अनुरोध छ ।”
साथै विभिन्न यान्त्रिक उपकरण राख्ने, मर्मत सम्भार गर्ने आदि कार्य गर्नुपर्ने हुँदा न्यूनतम ८ रोपनी जग्गा आवश्यक हुने देखिएकोले उक्त जग्गा पालिकालाई उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमामा यान्त्रिक कार्यालय स्थापना हिमाबासीको लागि खुसी कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,यान्त्रिक कार्यालयले विकास निर्माणका कार्यमा यान्त्रिक उपकरणहरू उपलब्ध गराउनुका साथै बाढि पहिरो लगायत दैवी प्रकोपमा आकस्मिक मर्मत तथा उद्धारका कार्य गर्न सहयोग पुग्नेछ । साथै यान्त्रिक कार्यालय स्थापनापछि हिमाको भौतिक पूर्वाधार तथा सामाजिक रूपान्तरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आवश्यक जग्गा उपलब्धताका लागि सबै वडाध्यक्ष तथा स्थानीयबासी संग छलफल गरि टुग्याईने र चाडै यान्त्रिक कार्यालय स्थापना गरिने अध्यक्ष शाहीको भनाई छ ।
जुम्लामा सडक डिभिजनले कार्यालय स्थापना भएको वर्षौपछि यान्त्रिक कार्यालय स्थापना गरेको छ । हिमा गाउँ गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुनुलाई विकास निर्माण,राहत उद्दार,पुर्नस्थापना लगायतका दृष्टिले ठुलो उपलब्धी मान्न सकिन्छ ।






प्रतिक्रिया राख्नुहोस्