भारतमा वर्ड फ्लुको प्रकोप : प्रतिबन्धित कुखुरा, चल्ला र सेतो अण्डा आयातमा रोक
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षीय बैठकले पछिल्लो समय छिमेकी मुलुक भारतमा वर्ड फ्लुको प्रकोप फैलिरहेको सन्दर्भमा सीमावर्ती भारतीय भूमिबाट सेतो अण्डा, कुखुरा लगायतका पदार्थहरूको अवैध आयातलाई तत्काल रोक लगाउने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा वर्ड फ्लु नियन्त्रण सम्बन्धि आज बसेको बैठकले नेपालमा पैठारीका लागि प्रतिबन्धित कुखुरा, चल्ला र सेतो अण्डा भारतीय भूमिबाट ल्याउन पूर्ण रुपमा रोक लगाउने, यसको लागि सीमा क्षेत्रमा थप निगरानी बढाउने, यससँग सम्बन्धित सूचना तथा जानकारी सरोकारवाला सबै निकायले एक आपसमा आदानप्रदान गर्ने, आन्तरिक बजारमा यस्ता पदार्थको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्र्न भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा. राज कुमार शाहको संयोजकत्वमा ७ सदस्यीय टोली गठन गरेको छ ।
टोलीमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल लेयर्स कुखुरा पालक संघका प्रतिनिधि रहेका छन् ।
बैठकमा पर्साका नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू, कुखुरा पालक संघका प्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्