तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक रूपान्तरणमा चलचित्र महत्वपूर्ण : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मिथिलाको कला संस्कृति प्रभावकारी प्रचार प्रसारका लागि चलचित्र महोत्सव महत्वपूर्ण भएको बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहले मधेश प्रदेशको राजधानी जनकपुरधाममा संवाद फाउन्डेसनको आयोजनामा आज देखि शुरु भएको तीन दिने जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै समाज परिवर्तनमा चलचित्र प्रभावकारी माध्यम भएको बताउनुभयो । 

अभिभावकले आफ्ना बालबालिकाको क्षमताको पहिचान गरी अगाडी बढाउनुपर्नेमा जोड दिँदै यस्ता प्रकारका महोत्सवमा कलाकारमा उत्साह थपिने बताउनुभयो । 

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार यादवले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन यस्ता प्रकारको महोत्सवको आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमालेका नेत्री जुली महतोले जनकपुरधामको विश्वमा छुट्टै पहिचान भएको भन्दै यहाँको कला संस्कृतिको उजागरमा महोत्सव महत्वपूर्ण भएको बताउनुभयो । 

मैथिली विकास कोषको भवनमा तीन दिनसम्म चल्ने महोत्सवमा दस विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button