चितवनमा पहिलो पटक घर बनाउने मेला हुँदै
चितवन । चितवनमा पहिलोपटक घर बनाउने मेला हुने भएको छ ।
निर्माण व्यवसायीहरूको समूह भी ग्रुप,निर्माण व्यवसायी एस वन होम्सको आयोजना तथा उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आउँदो वैशाख २५ गतेदेखि २७ गते सम्म नारायणगढमा हुन लागेको हो । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षा सम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित घर बनाउने मेला आयोजना गर्न लागिएको भी ग्रुपका अध्यक्ष विपिन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्र विन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पुर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौँ ।’ कँडेलले भन्नुभयो ।
घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबिच पनि भेट गराइने कँडेलले बताउनु भयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी , विज्ञ, उपभोक्ता बीच परामर्श, अभिमुखीकरण , अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन । ‘हामीले उपभोक्तालाई घर तथा भवन बनाउन के कस्ता निकायहरुसंँग समन्वय र स्वीकृति लिनुपर्छ र कम लागतमा अधिकतम गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उद्देश्य पनि हो ।’ उहाँले भन्नुभयो । घर जग्गा कारोबार तथा निर्माण तथा निर्माण सामाग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छाता मुनी सबै प्रकारका सेवा तथा जानकारी उद्देश्यले मेला आयोजना गर्न लागिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । ‘यो मेलाले व्यवसायी र सेवाग्राही बीच प्रत्यक्ष भेटघाट गराउँछ ’ , न्यौपानेले भन्नुभयो ।’
उद्योग वाणिज्य संघ चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री , लगायतका गरी २५ वटा स्टल रहनेछन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने न्यौपानेको भनाई छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर , उपभोक्ता , सर्वसाधारण, विद्यार्थीहरूलाई फाइदा पुग्ने उहाँले बताउनु भयो । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्