पहिरो हटाएपछि उत्तरी क्षेत्र भोटखोला जाने सडक सुचारु
संखुवासभा। सुख्खा पहिरो खसेर अवरुद्ध भएको सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सुचारु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथाङ्का सडक खण्डको भोटखोला गाउँपलिकाको हटिया र हुङगुङ बीचमा पहिरो हटाएपछि सडक सुचारु भएको उत्तर दक्षिण कोशी सडक अयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।
सुख्खा पहिरो हटाएपछि हिजो दिउँसो देखि खाँदबारी –किमाथाङ्का सडक खण्ड सुचारु भएको सूचना अधिकारी जिरेलले बताउनुभयो । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूल्ठूला ढुङ्गा सहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
खाँदबारी देखि एक सय ९ किलोमिटरको दूरीमा सुख्खा पहिरो खसेको थियो ।
पहिरो हटाएपछि भोटखोलाबाट खाँदबारी आउने जाने यातायातका साधन सञ्चालनमा आएको उहाँको भनाइ छ । खाँदबारी –किमाथाङ्का सडक खण्डमा सुख्खा पहिरोका कारण बेलाबेला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।
च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ ।
खाँदबारी–किमाथाङ्का १६२ किलोमिटर मध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
किमाथाङ्का–जोगवनी सडकखण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो ।
सो सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
राष्ट्रिय गौरवको खाँदबारी-किमाथाङ्का सडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्