तपाईँ सुन्दै हुनुहुन्छः

फोर नेसन्स कप’ को उपाधि म्यान्मारलाई

काठमाडाैँ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।

आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो ।

नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन । ४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् ।

नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button