तपाईँ सुन्दै हुनुहुन्छः

स्विट्जरल्यान्डको सहज जित, बोस्नियालाई ४–१ ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गतको खेलमा स्विट्जरल्यान्डले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित बोस्निया एण्ड हर्जेगोभिनालाई ४–१ गोलले पराजित गर्दै स्विट्जरल्यान्डले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको हो ।

लस एन्जलसस्थित स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट जाकाले एक/एक गोल थपे । बोस्नियाका इर्मिन माह्मिकले सान्त्वना गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

८०औँ मिनेटमा तारिक मुहारेमोभिक रातो कार्ड पाएपछि बोस्निया १० खेलाडीमा सीमित भयो । त्यसपछि चार मिनेटमै भार्गासले गोल गर्दै अग्रता दोब्बर पारे । ९०औँ मिनेटमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा माह्मिकले गोल गरे पनि इन्जुरी समयकै सातौँ मिनेटमा जाकाले गोल थप्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे ।

जितसँगै स्विट्जरल्यान्डले दुई खेलबाट चार अंक जोडेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको बोस्निया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button