तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला परिक्रमालाई ध्यानमा राखेर हनुमानगढीमा विशेष सरसफाई 

जनकपुरधाम । मिथिलाको महाकुम्भको रुपमा चिनिने १५ दिने मध्यमा मिथिला मध्यमा परिक्रमालाई ध्यानमा राखी जनकपुरधाम उप– महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई तीव्र बनाएको छ । 

जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको अगुवाइमा डोला विश्राम स्थलको रुपमा रहेको हनुसमानगढी क्षेत्रमा आज बिहान विशेष सरसफाई गर्ने काम सम्पन्न भएको छ । 

डोला विश्रामस्थल जनकपुरधाम उपमहानगरपालिका वडा नंं १२ स्थित हनुमान गढीमा मन्दिर वरिपरि सरसफाई गर्ने काम भएको छ । नगरवासीले फोहरमैला सडकमै फ्याँक्ने परिपाटी भएका कारणले नगरक्षेत्रका सडकहरूलाई उपमहानगरपालिकाले नियमित सरसफाई गरेपनि फोहर देखिने गरेको छ ।  

सडकको सरसफाई सँगै कालोपत्रे सडकमा पानीले धोई पखाली चिटिक्क बनाउने काम भएको छ । सरसफाईमा स्थानीयहरूवासीहरु पनि सहभागी भएका थिए भने जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरू सहभागी भएर सो क्षेत्रलाई सफा बनाउने काम भएको छ । 

ल्याण्डफिल्ड साइट निर्धारण हुन नसकेपछि फोहर व्यवस्थापनका समस्या खेपी रहेका जनकपुरधाम उप–महानगरपालिकाले अस्थायी रुपमा फोहरको व्यवस्थापन गरेपनि फोहरको सही व्यवस्थापन हुन सकेको छैन । एडिबीको ऋण सहयोगमा जनकपुरधामका सडकहरू निर्माण भएपनि सफाइमा अझै सुधारको खाँचो रहेको स्थानीयवासीले औँल्याएका छन् । 

जनकपुरधाममा फोहरको व्यवस्थित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्थापन जरुरी रहेको छ । अहिले अस्थायी रुपमा फोहरको व्यवस्थापन हुने गरेको छ । ल्याण्डफिल साइटको लागि ठाउँको यकिनमा विभिन्न राजनीतिक दलका नेताहरूले पटक पटक व्यवधान गर्ने गरेका कारणले हालसम्म ल्याण्डफिल साइट बन्न नसकेपछि फोहरको सही व्यवस्थापन हुन नसकेको नगरप्रमुख साहले बताउनुभयो । 

मिथिलाको महाकुम्भको रुपमा चिनिने १५ दिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारीको मठबाट फागुन १५ गते बिहीबार डोला उठेसंगैै परिक्रमाको शुरुआत हुने गरेको छ ।  

बिहीबार जनकपुरधामको हनुमानगढीमा रात्रि विश्रामपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुनेछ । परिक्रमाका यात्रीहरू नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने चलन रहेको छ । 

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् जानकीको डोला र मिथिला बिहारी अर्थात् भगवान् श्रीरामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक तीर्थ स्थलहरूको परिक्रमा गर्ने चलन रहेको छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरू भजन कीर्तन सहित पुग्ने गरेका छन् । 

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही जानेछन् । पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिन फागुन २९ गते जनकपुरधाम फर्किने कार्यक्रम रहेको छ । 

चैत १ गते १५ दिने मध्यमा मिथिलाका परिक्रमाका तीर्थयात्री सहित अन्य लाखौँ तीर्थयात्रीहरू पञ्चकोशी अन्तर गृह परिक्रमा सकेर घर फर्किसकेपछि चैत्र २ गते मिथिला क्षेत्रमा होली खेल्ने चलन रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button