सल्यानमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट ३७२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानले छत्रेश्वरी–६ गर्चे स्थित छत्रेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरेको शिविरबाट ३७२ जना बिरामीले लाभ प्राप्त गरेका हुन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर अर्जुन बुढा मगर सहित ७ जनाको विशेषज्ञ टोलिले बिरामीको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरबाट प्रयोगशाला जाँच सेवा ३५ जना, भिडियो एक्सरे सेवा ३० जना, डेण्टल सेवा २९ जनाले लिएको स्वास्थ्य शाखा छत्रेश्वरीका प्रमुख गणेशमान डांगीले जानकारी दिनुभयो । यसैगरी ७१ जनाको भिआइए जाँच गरिएकोमा पोजेटिभ देखिएका बिरामी एकजनाको उपचार गरिएको र ७ जनालाई रिङ प्रेसरी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
यसअघि शिविरको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्य अनुरुप गाउँपालिकासँगको समन्वयमा स्वास्थ्य सेवा कार्यालयले यस प्रकारको शिविर सञ्चालन गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर बुढा मगरले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्