लुम्बिनीमा ललितकला प्रदर्शनी सुरु, मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन
रुपन्देही । लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

चित्र, मूर्ति, लोक कला मार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारहरूले निर्माण गरेको आकृतिहरू राखिएका छन् । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवर्द्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवर्द्धनका लागि प्रज्ञा-प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार विधेयक तर्जुमा प्रक्रिया जारी छ । ऐन सबै पक्षलाई समेटेर तयार पारिने बताउनु भयो । प्रदेश सरकार ललितकला लगायत सम्पूर्ण कला क्षेत्रको समग्र विकासका लागि सकारात्मक रहेको समेत उहाँले बताउनुभयो ।
ललितकला प्रज्ञा(प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश संयोजक दिनेश्वर महतोको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रदर्शनी उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू सार्वजनिक स्थलमा आगामी दिनमा कोरिने बताउनुभयो ।
त्यसैगरी, उद्घाटन कार्यक्रममा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो ।
कलाकार नरबहादुर विकले कार्यक्रम स्थलमा २० मिनेटको अवधिमा कोर्नु भएको चित्र मुख्यमन्त्री आचार्यलाई समेत हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्