प्युठान र रोल्पामा दिनभरी विद्युत सेवा बन्द हुने
रोल्पा। हावाहुरीको प्रभावलाई मध्यनजर गर्दै विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउनका लागि विभिन्न स्थानमा विद्युत संरचना, तार, पोल र ट्रान्सफर्मरको नजिक रहेका रुख र हाँगाहरू काट्ने कार्य भइरहेको छ। यस कारण आज शनिवार बिहान ७ बजेदेखि राति ६ बजेसम्म प्युठान र रोल्पाका केही स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुने जानकारी रोल्पा वितरण केन्द्रले दिएको छ।
विद्युत आपूर्ति अवरुद्ध हुने क्षेत्रमा विशेषगरी सार्वजनिक सेवाहरू र सञ्चार क्षेत्रमा प्रत्यक्ष असर पर्नेछ। यस कारण रेडियो नेपाल रोल्पा रिले एफएम, अन्य सामुदायिक एफएम, पत्रपत्रिका, छापाखाना, मोबाइल सेवा प्रदायक टेलिकम टावर, र इन्टरनेट सेवा प्रदायकहरू जस्ता सेवा दिनभरि प्रभावित हुनेछन्।
विद्युत अवरुद्ध हुने स्थानहरू:
प्युठानको झिमरुक पावर हाउसदेखि नयाँ गाउ, लामाचौर, भिगृ क्षेत्रलगायत झिमरुक रोल्पा लिवाङ ३३ के.भी. फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुनेछ। यसका अतिरिक्त, रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, माडि गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, लुङग्री गाउँपालिका र त्रिवेणी गाउँपालिका लगायतका स्थानहरू पनि प्रभावित हुनेछन्।
रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले जानकारी दिएअनुसार, हावाहुरीका कारण दैनिक रूपमा विद्युत आपूर्ति समस्यामा परेका स्थानमा सुधार ल्याउनका लागि शनिबार रुख र हाँगाहरूको कटान गरिन लागेको छ।
प्रतिक्रिया राख्नुहोस्