माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँगको सम्बन्ध सुधारका लागि यही फागुन १२ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
माओवादी केन्द्रले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी हुलाकी मार्गलाई आधार बनाएर तराई मधेश जागरण अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
झापाबाट सुरु हुने जागरण अभियान तराई–मधेशका समस्यामा केन्द्रित हुने र चैत्र ८ गते कञ्चनपुर पुगेर समाप्त हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, माओवादी केन्द्रले तराई–मधेश केन्द्रित पहिलो चरणको अभियान सम्पन्न भएपछि दोस्रो चरणमा मध्य–पहाडी लोकमार्गलाई आधार बनाएर हिमाल र पहाड जोड्ने अभियान सञ्चालन गर्ने उपाध्यक्ष सापकोटाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहनुभएका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले सरकार अहिले अध्यादेशको पासोमा परेका कारण संसद्का कामकारबाही प्रभावकारी हुन नसकेको टिप्पणी समेत गर्नुभयो ।
अध्यादेशबाट शासन चलाउन खोज्नु सरकारको अधिनायकबादी सोँच भएको उल्लेख गर्नुहुँदै उपाध्यक्ष सापकोटाले जनताका प्रश्नको घेरामा परेपछि सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याएको आरोप समेत लगाउनुभयो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले सहकारी पीडितको समस्या समाधान गर्न, महँगी नियन्त्रण गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको समेत टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्