तपाईँ सुन्दै हुनुहुन्छः

लम्सालको शङ्कास्पद मृत्युको विरोधमा विद्यार्थीहरूद्वारा मौन जुलुस प्रदर्शन

वीरगञ्ज । भारतको उडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा आज वीरगञ्जमा विद्यार्थीहरूले मौन जुलुस निकालेका छन् ।

न्यायको माग गर्दै शुक्रवार गरिएको प्रदर्शनमा किट विश्वविद्यालयबाट निष्कासित ५० भन्दा बढी विद्यार्थी सहित वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूले हातमा कालो पट्टि बाँधेर मुखमा कालो पट्टि लगाउँदै जुलुस प्रदर्शन गरेका थिए । 

२० वर्षीय प्रकृति लम्साल फागुन ४ गते किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गर्ने काम भएको थियो । 

विद्यार्थीहरूमाथि भएको दमनको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरिएको थियो । घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माई स्थान, आदर्शनगर, नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेर समापन भएको थियो ।

विद्यार्थीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको गैर जिम्मेवार रवैया र अन्यायपूर्ण कारबाहीको कडा विरोध जनाएका थिए । 

विद्यार्थीहरूले प्रकृति लम्साललाई मानसिक र शारीरिक यातना दिएको आरोप लागेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै भारतमा नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिएका थिए ।

विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस विषयलाई सम्बन्धित निकायमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यो घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षासँगै नेपाल–भारतबिचको शैक्षिक सम्बन्धमा पनि प्रश्न उठाएको पीडित विद्यार्थीका अभिभावकहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button