सार्वजनिक सेवा प्रसारण नेपालबाट प्रसारित सामाग्रीलाई थप जनता केन्द्रित बनाउनुपर्नेमा जोड

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालबाट प्रसारित सामाग्रीलाई थप जनता केन्द्रित बनाउनुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालको आगामी कार्यदिशा सम्बन्धी रेडियो नेपालमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा पिएसबीका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले पिएसबीको मर्म अनुसार कर्मचारीले आफूलाई रूपान्तरित गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यकारी अध्यक्ष बिष्टले सार्वजनिक सेवा प्रसारण नेपाल कार्यान्वयनका लागि नियमावलीको तयारी तथा अन्य नीतिगत व्यवस्थाका कामहरू भइरहेको जानकारी गराउनुभयो ।
सञ्चार कानुन विज्ञ काशीराज दाहालले पिएसबीले जनतालाई आकर्षित गर्ने खालका सामग्री उत्पादन गर्नुपर्ने भन्दै त्यसबाट जनताको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने किसिमका सूचना दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पिएसबीलाई जनता केन्द्रित, जनता नियन्त्रित र जनताद्वारा सञ्चालित बनाइनुपर्ने भन्दै यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबैभन्दा पहिले कर्मचारी समयसापेक्ष रूपान्तरित हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले पिएसबी अझैपनि भनेजस्तो गरी आउन नसकेको भन्दै यसलाई स्वायत्त बनाउनका लागि सरकार मातहत राखिन नहुने र स्रोत सुनिश्चितताको ग्यारेन्टी गरिनुपर्ने धारणा राख्नुभयो ।
सञ्चार कानुन विज्ञ दाहालले सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रममा पिएसबीले सबैका बिचारलाई समेट्नुपर्ने विविधतालाई प्रतिबिम्बित गर्नुपर्ने र सबैको पहुँचमा आफूलाई पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसबीलाई अगाडी बढाउन कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने भन्दै संस्था र कर्मचारीको हित हुनेगरी नियमावली तथा अन्य नीतिगत व्यवस्था गरिने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले यस्ता खालका अन्तरक्रियाले कर्मचारीहरूलाई आफ्नो कामप्रति प्रोत्साहित गर्नुका साथै संस्थालाई प्रभावकारी ढंगले अगाडी बढाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कर्मचारीहरूले पिएसबीको नियमावलीको अवस्था, कर्मचारी समायोजन प्रक्रिया, सेवा सुविधा, सङ्गठन संरचनालगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्