तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुभारम्भ 

रुपन्देही । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ ।

पूर्व विद्यार्थीको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको टिकाराम–तारादेवी अक्षयकोष स्थापना गर्नुभएको छ । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिनेछ ।

यस्तै मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो ।

प्रदेशभित्र एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालय प्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । 

यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसइईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्व विद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबिच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ । 

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँच सय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो । 

२०८० को एसइई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम छ । यी विद्यालयको सङ्ख्या कुल विद्यालय सङ्ख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।

अभियानमार्फत विद्यालय व्यवस्थापन, सामाजिक जागरूकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ । 

यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिनेछन् । 

विद्यालयलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि सहयोग पुर्‍याइनेछ । सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थामा हुने चुनौतीहरू तथा लागूपदार्थ दुर्व्यसनजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विपत् व्यवस्थापनका पूर्वतयारी गतिविधि तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपबारे जानकारी प्रदान गरिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button