जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले पटक पटक तानाशाह र निरङ्कुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने समेत बताउनुभयो ।
“गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्व राजाको शासनकालमा राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जाँदैनौँ”, महामन्त्री थापाले भन्नुभयो ।
प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उहाँले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको धारणा राख्नुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहनुभएको र केही दिनभित्र समझदारी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्