सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गरिनेछ: अध्यक्ष प्रचण्ड

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताउनुभयो ।
बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सहिद पार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्