जन्ती बोकेको सवारी दुर्घटना हुँदा एकको मृत्यु
उदयपुर । उदयपुरमा जन्ती बोकेको बस विपरीत दिशाबाट आएको ट्रक सँग ठोकिदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मदन भण्डारी लोकमार्गको सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा गएराती भएको सवारी दुर्घटनामा बाराको गढी गाउँपालिका–४ का अन्दाजी ७० का सिताराम धामीको मृत्यु भएको हो । दुर्घटना परि अन्य पाँचजना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग हुँदै २५–३० जना जन्ती बोकेर पूर्व तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकी पश्चिम कटारी तर्फ जाँदै गरेको ना८ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष काकीका अनुसार ट्रकमा चालक र सहचालक गरी दुईजना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याइएको थियो । घाइतेमध्ये धामीको जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।
उक्त दुर्घटनामा जम्मा २६ जना घाइते भएकोमा २० जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भएको र दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । तीनजनाको भने न्यूरो अस्पताल विराटनगर थप उपचारको लागि पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्