तपाईँ सुन्दै हुनुहुन्छः

भारतको केआइआइटी  विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै फर्किए

बीरगंज । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी ) विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै घर फर्किएका छन् ।

बुधबार बिहान २ बजेदेखि बिहीबार आज बिहान १० बजेसम्म १ सय ५६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

भुवनेश्वरबाट रेल तथा सडकमार्ग हुँदै रक्सौल आइपुगेका ती विद्यार्थी वीरगञ्जको इनर्वा र अलौं नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । इनर्वा नाका हुँदै १ सय ५३ जना र अलौं नाका हुँदै ३ जना गरी जम्मा १ सय ५६ जना विद्यार्थी नेपाल फर्किएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । तीमध्ये २७ छात्रा र १२९ छात्र रहेका छन् ।

फर्किएका विद्यार्थीहरूमध्ये अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका र साउथजोन माविको सहकार्यमा गाडीको व्यवस्था गरी घर पठाएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो । टाढा घर भएका विद्यार्थीहरूलाई प्रहरीले समेत सहयोग गरेर गाडीमार्फत गन्तव्यसम्म पुर्‍याइएको छ भने केहीलाई आफन्तले नै लिन आएका थिए ।

वीरगञ्ज महानगरपालिका बडा नम्बर–१५ ब्रह्मचोकका छात्र पिन्टु यादवका अनुसार केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शङ्कास्पद मृत्यु भएपछि घटनाको छानबिनको माग गर्दा प्रशासनले आफूहरू माथि गुण्डा परिचालन गरी निर्घात कुटपिट गराएको बताउनुभयो । 

आन्दोलनका क्रममा आफूहरू माथी कुटपिट मात्र नगरी राति होस्टेलमै गुण्डा पठाएर कलेज प्रशासनले तत्कालै होस्टेल खाली गर्न धम्की दिएको र ज्यान असुरक्षित भएपछि रातारात कलेज छाडेर निस्कन बाध्य भएको यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button