तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्लामा एचपिभी खोप अभियान सफल, ९९ प्रतिशत बालिकालाई खोप लगाइयो

बाँके। बाँके जिल्लामा लक्षित समूहका ९९ प्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३,३७५ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो, जसमा ३२,९९९ बालिकालाई अर्थात् ९९ प्रतिशतलाई खोप लगाइएको छ।

उहाँका अनुसार, सबैभन्दा बढी खजुरा गाउँपालिकामा खोप अभियान सफल भएको छ, जहाँ लक्ष्यभन्दा ५७ प्रतिशत बढी बालिकालाई खोप लगाइएको छ। खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य थियो, जसमा ५,१०० बालिकाले खोप लगाएका छन्।

नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा २ प्रतिशत बढी बालिकालाई खोप लगाइएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीका अनुसार नेपालगन्जमा ८,२६२ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो, जसमा ८,४०० बालिकाले खोप लगाएका छन्।

यस्तै, डुडुवा गाउँपालिकामा ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् भने राप्ती सोनारी गाउँपालिकामा ९७ प्रतिशत, जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत बालिकाले खोप लगाएका छन्।

सबैभन्दा कम कोहलपुर नगरपालिकामा ८३ प्रतिशत बालिकाले खोप लगाएका छन्, र स्वास्थ्य कार्यालय बाँकेले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ।

दर्ज गरिएको लक्ष्यअनुसार ३३,३७५ बालिका र किशोरीलाई खोप लगाउने अभियान २२ माघदेखि सुरु भएको थियो। यस अभियानमा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका र किशोरीलाई खोप लगाइएको थियो। खोप अभियानलाई सफल बनाउन युनिसेफले नरैनापुरमा प्राविधिक सहयोग गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button