तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइयो ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस

कञ्चनपुर । ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ कञ्चनपुरमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको संयोजनमा मूल समारोह समितिद्वारा महेन्द्रनगरको खुलामञ्चमा विशेष समारोह आयोजना गरिएको थियो । सरकारी गैरसरकारी, सामुदायिक तथा निजी संघसंस्थाहरूको सहभागितामा बजार परिक्रमा गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । खुलामञ्चमा आयोजित मूल समारोहमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा ९पातल० ले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा यो दिवस मनाउने गरिएको उल्लेख गर्नुभयो । उहाँले प्रजातन्त्र स्थापनापछि पनि देशले थुप्रै सङ्घर्ष गर्नुपरेको स्मरण गराउँदै यी सबै उपलब्धिहरूलाई संस्थागत गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा आयोजित समारोहमा जिल्लास्थित जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक तथा निजी सङ्घसंस्थाका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । समारोहमा प्रजातन्त्रको महत्व र यसको रक्षा गर्न नागरिकको कर्तव्यबारे वक्ताहरूले धारणा राख्नुभएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button