तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीको लागि साङ्गरुम्वाबासीको वर्षौं देखिको दुःख अन्त्य

इलाम । लामो समयदेखि पानीको समस्या भोग्दै आएका इलाम नगरपालिका वडा १२ स्थित साङ्गरुम्वामा  व्यवस्थित रुपमा खानेपानी वितरण भएपछि खानेपानीको अभाव अन्त्य भएको छ । 

विकासको दृष्टिले समेत पछाडि परेको यस क्षेत्रमा नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना निमार्ण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको स्थानीय बताउँछन् । पानी जोहो गर्न काम नै छोडेर लाग्नु पर्ने छिमेकीसँग पनि पानीकै कारण मनमुटाब हुने गरेको सुनाउँदै स्थानीय शान्ता विष्टले पानीको सुविधा घरमा आएपछि दैनिकी सहज भएको बताउनुभयो । 

अहिले पानी बनाउन जानु नपर्ने, घरघरमा धारा भएपछि  सागसब्जी उत्पादन गर्न र अन्य काम गर्न समय बचत भएको विष्ट बताउनुहुन्छ । 

सधैँ खाई आइरहेका पानी सुक्दै गएपछि यस बस्तीमा पानीको अभाव हुँदै आएको नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना उपभोक्ता समितिका सचिव निशा प्रसाईँले बताउनुभयो । भविष्यमा पानी अभाव हुन नदिन मुहान संरक्षणको काम गरिएको उहाँको भनाई छ । 

सुख्खा क्षेत्रको रुपमा रहेको यस बस्तीमा खानेपानीको लागि प्रयोग गरेपछि साग सब्जीमा लगाउन र गाई वस्तुलाई खुवाउन सहज भएको स्थानीय रघुवीर विष्टले बताउनुभयो । 

खानेपानी योजना सम्पन्न गर्न  १७ लाख ५४ हजार ८६४ रुपैंया खर्च भएको छ ।  इलाम नगरपालिका वडा नं १२ बाट ५ लाख , सहयात्रा नेपालबाट ५ लाख, फेण्डस अफ युके बाट १ लाख ७० हजार र  उपभोक्ता बाट  ५ लाख ८४ हजार रुपैयाँको बराबरको स्थानीय सामग्री जुटाउन र श्रमदान भएको उपभोक्ता समिति अध्यक्ष सृजना चौहानले बताउनुभयो ।

जलवायु परिवर्तन र जथाभाबी गरिएको विकास निमार्णका कारण पानीका श्रोतहरू सुक्दै गएको कारण मुहान संरक्षण कार्यक्रम  अन्तर्गत टेवाको अनुदान र स्थानीय सरकारको अनुदानमा  खानेपानी आयोजना सम्पन्न गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनुभयो । 

खानेपानीको मुहान निजी जग्गामा रहेकोले स्थानीय नरेन्द्र चौलागाईले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको छ । १६ हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निमार्ण गरी घर घरमा धारा जडान गरिएको  छ । यस योजना बाट २८  घरपरिवारका १ सय ८ जना लाभान्वित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button