तपाईँ सुन्दै हुनुहुन्छः

फाप्लु विमानस्थलमा ‘रिफ्युलिंग’ सेन्टर राख्न माग

सोलुखुम्बु। हिमाली पर्यटनको केन्द्रका रूपमा चिनिने सोलुखुम्बुमा पर्यटन प्रबर्धनका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिंग’ सेन्टर स्थापना गर्न माग गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाले नेपाल आयल निगमको केन्द्रीय कार्यालयसँग यस सम्बन्धमा पहल गरेको हो।

सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले, पर्यटन सिजनमा हजारौँ पर्यटक खुम्बु क्षेत्र पुग्दा मौसम प्रतिकूल हुँदा हवाई उडान रद्द हुने समस्या समाधान गर्नका लागि फाप्लु विमानस्थलमा ‘रिफ्युलिंग’ सेन्टर राख्न आग्रह गरेका छन्। यसले पर्यटक र सहयोगीहरूको विचल्ली कम गर्न मद्दत गर्ने प्रमुख शेर्पाले बताउनुभयाे ।

हाल, पर्यटकहरू रामेछापबाट लुक्ला उडान गर्दै आएका छन् र प्रतिकूल मौसमको कारण उनीहरूको यात्रा कठिन बन्ने अवस्था सृजना भइरहेको छ। यस समस्या समाधान गर्न हवाई इन्धन ‘रिफ्युलिंग’ सेन्टरको आवश्यकता रहेको प्रमुख शेर्पाले बताउनुभयाे। नेपाल आयल निगम र विभिन्न एयरलाइन्सहरूसँग समन्वय गरी पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयाे।

फाप्लु विमानस्थलमा इन्धन ‘रिफ्युलिंग’ सेन्टर राखेर काठमाण्डौं–फाप्लु र फाप्लु–लुक्ला उडानलाई व्यवस्थित गर्ने उद्देश्य रहेको नगरप्रमुख शेर्पाले जोड दिनुभयाे। यसले सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटनलाईसमेत थप समृद्ध बनाउने उहाँको भनाइ छ।

सोलुखुम्बुको विभिन्न विमानस्थलमा नियमित उडान सुनिश्चित गर्न र पर्यटकको संख्या वृद्धि गरेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन फाप्लु विमानस्थलमा ‘रिफ्युलिंग’ सेन्टरको आवश्यकता रहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयाे। यसले तल्लो सोलुका स्थानीयलाई सहज र प्रभावकारी यात्रा पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयाे।

फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिंग’ सेन्टरको स्थापना भए सोलुखुम्बुको समग्र पर्यटनको लागि लाभकारी हुने पर्यटन व्यवसायीहरूकाे विश्वास छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button