तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माणार्थ जग्गा सम्झौता

काभ्रेपलाञ्चोक । यहाँको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच आज वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो । 

धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा आज बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । नगरप्रमुख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगर धुलिखेलमा फिल्म स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्‍याउने बताउनुभयो । “नेपालमै पहिलो स्वस्थ सहरको दर्जा पाएकामा धुलिखेललाई बधाई छ, फिल्म सिटीले धुलिखेललाई अझ सुन्दर बनाउने छ, यसलाई गौरवको विषय मान्नुपर्छ”, उहाँले भन्नुभयो । 

नगरप्रमुख ब्याञ्जूले चलचित्र क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि नगरले सकेको सहयोग गर्ने बताउँदै धुलिखेलमा आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रुपमा थप विकास गर्ने अपेक्षा गरिएको बताउनुभयो । त्यसैगरी बोर्डका अध्यक्ष डिसीले उक्त जग्गामा प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरी आउटडोर स्टुडियो निर्माण नेपाली चलचित्र उद्योगका लागि नयाँ उपलब्धि सावित हुने बताउनुभयो ।

यसअघि बनेपा नगरपालिका–१० र १३ वडास्थित बाहुनडाँडा सामुदायिक वनमा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया थालिएको छ । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माण गर्ने योजना समावेश गरिएको थियो । डिसीका अनुसार सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको छ । 

यसैबीच धुलिखेल नगर र दक्षिण कोरियास्थित मुङ्गयोङ्ग नगरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । धुलिखेलको ३९औँ स्थापना दिवसकै अवसरमा आज दुई नगरबीच स्थापित भगिनी सम्बन्ध–सझदारीपत्रमा ब्याञ्जू र मुङ्गयोङ्ग नगरका प्रमुख ह्युन कोक सिङ्नल हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button