तपाईँ सुन्दै हुनुहुन्छः

हुलाक टिकटमा रैथाने र लोपोन्मुख कलासंस्कृति पनि समेटिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताउनुभयो । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्ताबेज रहेको बताउनुभयो । मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्द्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैँले पहिचान गरी छाप्नुपर्ने बताउनुभयो । 

उहाँले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो । 

कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्च मार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभयो । भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज–अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्च मार्क मुद्रा’ हो । साथै प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक टिकटको ऐतिहासिक महत्व दर्शाउँदै विभागले पुरातात्त्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button