तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: आगलागी, बलात्कार र हत्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले खोटाङ जिल्लाको हलेसीमा भएको आगलागी र आगलागीबाट भएको क्षतिको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले हलेसीमा आगलागी बाट मानवीय क्षते नभएपनि ठूलो आर्थिक क्षते भएको भन्दै पीडितलाई क्षतिपूर्ति र राहतको तुरुन्त व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

आइतबार साझ हलेसीमा भएको आगलागी दमकल नभएका कारण नियन्त्रण गर्न समस्या उत्पन्न भएको भन्दै यसबाट पाठ सिकेर सबै पालिकाहरूमा अनिवार्य रुपमा एक दमकल उपलब्ध गराउन सांसहरुले माग गर्नुभयो ।

सांसदहरु सरस्वती बजीमया, रामकुमार राई, अशोककुमार चौधरीलगायतले अग्नी नियन्त्रण नीति प्रभावकारी बनाउदै कार्यान्वयनमा ल्याउनु पर्ने, आगलागी नियन्त्रणका लागि पूर्व तयारी गर्नुपर्नेमा जोड समेत दिनुभयो । 

सांसदहरु विरेन्द्र प्रसाद महतो, सम्झना थपलियाले सिराहामा १७ वर्षीय बालिका रिङ्कु कुमारी सदाको सामूहिक बलात्कारको घटनाबाट न्याय नपाएर आत्महत्या गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गर्नुभयो ।

सांसद सिता कुमारी रानाले दैलेखमा चोरी भएको सम्पत्तिमा भागबन्डा नमिल्दा एक बालकको हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही विरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ ।

सांसद पन्तले संविधानले दुई सदनात्मक संसदीय प्रणाली अवलम्बन गरेका कारण दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने भन्दै एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।

राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर आइतबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही विरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।

उहाँले दुई सदनबीच द्वन्द्व सिर्जना हुँदा संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने, राष्ट्रिय सभा पाकाहरूको सदन भएकाले यसलाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्न नहुने र एकले अर्काको सम्मान गर्नुपर्ने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button