तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप फुटबलको उपाधि ब्राइटल्याण्ड र नेपालगञ्ज सेन्ट जेभियर्सलाई

नेपालगञ्ज । ब्राइटल्याण्ड स्कुल र नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगञ्ज  रङ्गशालामा भएको प्रतियोगिताको पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलले सडन डेथमा ग्रीनपिस मावि नेपालगन्जलाई हराउँदै च्याम्पियन बनेको हो । छात्रातर्फ नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । 

पुरुषतर्फको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुट आउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडन डेथमा निकालिएको थियो । ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गर्नुभयो । ग्रीनपीसको लागि विशाल थापा मगर, बिराज रोकाय, डेबिट तामाङ, दिपेश भण्डारीले गोल गर्नुभयो । फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सानले जित्नुभयो । उहाँलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा। कुमार सान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गर्नुभयो ।

यसैगरी छात्रातर्फको फाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गर्नुभयो । रमिताले २५औँ र २६औँ मिनेटमा गोल गर्नुभयो । रेश्माले ४५औँ र ५७औँ मिनेटमा गोल गर्नुभएको थियो । खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बडुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनुभयो । उहाँलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका प्रशिक्षण विभाग प्रमुख जयन्त कुमार श्रेष्ठले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्ड स्कुलका श्रीस रावत र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत हुनुभयो  । उहाँहरू दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले पुरस्कृत गर्नुभयो । 

बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता दुवै टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उपमहासचिव दिर्घराज आचार्य कौशल, एचसीआरसी हस्पिटलका अध्यक्ष डा. शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पूर्व सदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह, गोविन्द प्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button