तपाईँ सुन्दै हुनुहुन्छः

निको कप महिला टि–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विजयी 

जनकपुरधाम । जनकपुरधाममा जारी निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको दोस्रो दिनको खेलमा मधेसलाई कर्णाली प्रदेशले ४ विकेटले पराजित गरेको हो ।

पहिलो व्याटिङ्ग गर्दै मधेश प्रदेशका महिला क्रिकेट टिमले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ९८ रन बनाएका थिए । मधेशका तर्फबाट सीवानी साहले १९ रन, अनुराधा चौधरी १६ रन बनाए पनि अन्य खेलाडीहरूको व्याटिङ्ग चल्न सकेन । अधिकांश व्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन् । 

कर्णालीका तर्फबाट त्रिसना विश्वकर्माले ३ विकेट, रामा बुढाथोकी २, गंगा खड्का र अञ्जु गुरुङ समान १–१ विकेट लिनु भएको थियो ।  ९९ रनको लक्ष्य सहित खेल मैदानमा आएका कर्णाली प्रदेशले ६ विकेटको क्षतिमा ९९ रन बनाउदै ४ विकेटले विजयी भएको छ ।  

मधेशका तर्फबाट अनुराधा चौधरीले २ विकेट, सरस्वती चौधरी, प्रतिमा साह, सुस्मिता यादव र साक्क्षी कुमारी यादवले समान १–१ विकेट लिनु भएको थियो । पहिलो दिनको खेलमा मधेशका महिला टिमले कोशी प्रदेशसँग पराजित भएका थिए । 

सम्पन्न भएको दुई खेलमा मधेश प्रदेश लगातार रुपमा पराजित भएको छ । 

भोलीको खेल मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका बीचमा हुने खेलतालिका रहेको नेपाल क्रिकेट संघ मधेश प्रदेशले जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button