राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रे हुँदै
बाजुरा। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको सडक कालोपत्रे हुने भएको छ। यसका लागि पहिलो पटक ठेक्का प्रक्रिया सम्पन्न गरिएको छ। सडक विभाग, उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना र खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर सडक कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरिसकेको छ।
सडक विभागका प्रमुख तुलाराम शर्माले कार्यालयले २ खण्डमा ठेक्का गरेको हो। कर्णाली करिडोर अन्तरगत बाजुराको पिलिचौरदेखि कुवाडीसम्म २३ किलोमिटर ७ सय मिटर र कुवाडीदेखि हुम्लाको सर्केगाँड गाउँपालिका १ तुम्चासम्म २७ किलोमिटर ३ सय मिटर गरी ५० किलोमिटर सडक कालोपत्रे गरिने छ।

यो ठेक्का ४ अर्ब २३ करोड रुपैयाँमा गरिएको हो र काम तीन वर्षभित्र सक्ने गरी ठेक्का आव्हान गरिएको छ। कर्णाली करिडोरको यो क्षेत्र कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सरिसल्लासम्म १ सय २३ किलोमिटर रहेको छ। यो सडकको ट्रयाक नेपाली सेनाले खोलेको थियो।
शर्माका अनुसार, यो वर्ष ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का भएको छ भने अर्को वर्ष कालिकोटको खुलालुदेखि बाजुराको पिलिचौरसम्म ६० किलोमिटर सडकको ठेक्का गरिनेछ।

कर्णाली करिडोरको यो मार्ग सरकारको गौरवको आयोजना हो र यो त्रिदेशीय मार्गका रूपमा विकास गरिएको छ। यस मार्गले दक्षिणमा भारत र पश्चिममा चीनसँगको सीमाना जोड्नेछ। लामो समयदेखि निर्माण कार्यमा प्रगति नभएपछि, भौगोलिक विकटता र प्रतिकूलताको सामना गर्दै, सरकारले २०७१ सालमा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै यसको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।
सडक विभागले सेनाको नेतृत्वमा सडकको स्तरोन्नति र कालोपत्रे गर्न सुरु गरेको हो। कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतीले बाजुरा, कालिकोट, मुगु र हुम्लाका स्थानीयमा उत्साह र खुसियाली ल्याएको छ।
सरकारले यो सडकलाई बाँके र नेपालगञ्जको रुपडिहा नाकाबाट आरम्भ गर्दै हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमानासम्म पुर्याउने लक्ष्य राखेको छ।
प्रतिक्रिया राख्नुहोस्