मन्त्रीको जन्मदिनमा पूर्वमन्त्रीको केक !

दोलखा।कैले कहीँ अनौठो संयोग जुर्छ । शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोटमा त्यस्तै एउटा संयोग जुरेको छ । संयोग नै भन्नु पर्छ फागुन २ गते शुक्रवार परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जन्मदिनमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केक खुवाउन पाउनु भएको छ ।
शनिवार जिरी भ्रमण बर्ष– २०२५ को शुभारम्भ कार्यक्रमको लागि शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोट आउनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जन्मदिन भन्ने थाहा पाएपछि नेकपा एमाले दोलखाले केक काट्ने व्यवस्था गरेको थियो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सरप्राईज दिँदै केक काट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्री पृथ्वी सुब्बा गुरुङलाई केक खुवाएर एमाले दोलखाको तर्फबाट जन्मदिनको शुभकामना दिनु भएको थियो ।
सो अवसरमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, प्रदेश सांसद भरत बहादुर केसी, मेलुुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, एमाले दोलखाका नेता– कार्यकर्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार परिवर्तनको कुरा हल्लामात्र भएको उल्लेख गर्नुहुँदै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्दासम्म सरकार केही नुहुने बताउनुु भयो । मन्त्री गुरुङले भन्नु भयो ढुक्क हुुनुुस यो सरकार २०८४ सम्मै जान्छ ।
मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न कतिपय कानुन तत्काल संशोधन गर्नुपर्ने आवश्यकता रहेकोले सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयो । अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार हो मन्त्री गुरुङले भन्नु भयो– त्यही अधिकार प्रयोग गरेर मुलुकमा सुशासन कायम गर्न तत्काल केही नीति– नियम परिवर्तन गर्नु पर्ने भएकोले अध्यादेश ल्याइएको हो । उहाँले मुुलुुकमा सुशासन र विकास नचाहनेहरूले मात्र अध्यादेशको विरोध गर्ने बताउनुु भयो ।
प्रतिक्रिया राख्नुहोस्