‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलता: आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया उहाँले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताउनुभयो ।
सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उहाँले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यमबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
“आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने बित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । उद्योग मन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनुभूति दिइरहेको बताउनुभयो ।
उहाँले धुँवा, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताउनुभयो ।
मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले मन्त्रालयअन्तर्गतका कानूनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राख्नुभयो । उहाँले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताउनुभयो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानुनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्