निजामती सेवामा तहगत संरचना रहने सहमति
निजामती सेवा चौधौँ तहसम्म रहने व्यवस्था
काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/KRB_KTM_U3A0798-1024x545.jpg)
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा आज समितिले निजामती सेवा तहगत संरचनामा रहने निर्णय गरेको हो । हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेको छ । विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।
निजामती सेवामा अतिरिक्त सचिव रहने की नरहने भन्ने विषयमा सांसदहरूबिच मत बाझिएपछि थप छलफल गरी अघि बढ्ने सहमति भएको छ । यसैगरी, कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरिवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जन गरेर सहमतिमा पुग्ने निर्णय समितिले गरेको छ ।
छलफलमा सांसदहरुले अहिलेकै अवस्थामा कार्यसम्पादन सम्झौताको कुनै अर्थ नरहेको भन्दै सरुवा हुने समय, अनुमान योग्य सरुवा लगायतको प्रभावकारी व्यवस्था अनिवार्य कार्यान्वयनको प्रबन्ध गरेर मात्रै गर्न सकिने बताउनुभयो ।
छलफलमा सबै कर्मचारीमा कार्यसम्पादन सम्झौता आवश्यक नरहेको भन्दै निश्चित आयोजना तथा परियोजना लगायतमा मात्रै गर्न सकिने विषयमा पनि समितिमा छलफल भएको छ ।
प्रतिक्रिया राख्नुहोस्