छाउगोठ मुक्त घोषणाको तयारीमा बाजुराका स्थानीय तह
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG_20250212_145145-1024x551.jpg)
बाजुरा । बाजुराका स्थानीय तहहरू छाउगोठ मुक्त पालिका घोषणाको तयारीमा लागेका छन्।
परम्परागत रुपमा रहेको छाउपडी प्रथाको अन्तका लागि जिल्लास्थित नौ वटै स्थानीय तहले कार्ययोजना बनाइ अघि बढेका हुन्।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले छाउगोठ मुक्त नगर घोषणा गर्न तीव्र तयारी थालिएको जनाएको छ । समाजमा विद्यमान कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । बडीमालिका नगरपालिकाले हालसम्म वडा नम्बर २, ३, ४, ५, ६ र ९ गरी ६ वटा वडा छाउगोठ मुक्त घोषणा गरिसकेको छ ।
त्यस्तै, बाँकी रहेका वडा नम्बर १, ७ र ८ लाई पनि यो बर्षभित्रै छाउगोठ मुक्त वडा घोषणा गरेर अर्को वर्षसम्म नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताउनुभयो।
उपप्रमुख थापाका अनुसार अहिले छाउगोठ मुक्त वडा घोषणा गर्न बाँकी वडाका गाउँहरूमा छाउगोठ र छाउपडीहरूको रहनसहन बारे स्थलगत रुपमा अनुगमन गर्न थालिएको छ । सोही अनुरुप नगरउपप्रमुख थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले वडा नम्बर ७ मा रहेका सबै बस्तीहरूमा स्थलगत अनुगमन गरेको छ ।
७ नम्बर वडामा गरिएको अनुगमनका क्रममा महिनावारी भएका बेला महिलाहरूका लागि घरभन्दा टाढा बनाइएका केही छाउगोठहरू भेटिएको नगर उपप्रमुख थापाले बताउनुभयो।
छाउगोठ भेटिएका ठाउँमा उनीहरुलाई पहिलो चरणमा अनुगमन गरेर आफैँ छाउगोठ हटाउनका लागि वडा कार्यालयले चिठीमार्फत आग्रह गर्ने र नमाने नगरपालिकाले नै भत्काइदिने योजना रहेको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाले जस्तै बाजुराका अन्य पालिकाले पनि योजना बनाई अघि बढेका छन् ।
प्रतिक्रिया राख्नुहोस्