तपाईँ सुन्दै हुनुहुन्छः

फरार देवसिंह ठकुरी १२ बर्ष पछि भारतबाट पक्राउ

धनगढी । जिल्ला कारागार कैलालीमा कर्तव्य ज्यान मुद्दा (हत्या) मा जन्मकैदको सजाए भोगिरहेको अवस्थामा फरार भएका देवसिंह ठकुरी (दिपक बहादुर सिंह) लाई प्रहरीले १२ बर्ष पछि पक्राउ गरेको छ । 

कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले नेपाल-भारत सिमाक्षेत्र गड्डाचौकीबाट प्रहरी टोलीले ठकुरीलाई पक्राउ गरेको बताउनुभयो । 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाए भोगिरहेको अवस्थामा फरार भएका ठकुरीलाई १२ बर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले पक्राउ गरि धनगढी ल्याएको उहाँले जानकारी दिनुभयो ।

ठकुरी २०६९ साउन २२  गते गेटा आँखा अस्पतालबाट भागेका थिए । आँखाको उपचारका लागि जिल्ला कारागारबाट प्रहरीले गेटा अस्पताल पुर्याएको बेला उनी भागेका थिए ।

२०६६ साल असार १० गते पक्राउ परेका ठकुरी जिल्ला कारागारमा सजाए भोगिरहेको तीन बर्षमै भागेका थिए । 

कुख्यात अपराधी ठकुरी दुई जनाको हत्या, अपहरण, चोरी, लुटपाट, हातहतियार तथा खरखजना लगायत आपराधिक घटनामा संलग्न रहेको प्रहरीको भनाई छ । ४८ वर्षीय ठकुरी कैलालीको गोदावरी नगरपालिका ११ का बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button