विजय कृष्णमूर्तिको धार्मिक आवरणमा ठगीको विवाद
धर्मको नाममा आर्थिक शोषण र कानूनको निरन्तर उल्लङ्घन
पोखरा। धार्मिक कार्यक्रमको नाममा ठगी गर्ने आरोपमा मुछिएका विजय कृष्णमूर्तिको गतिविधि फेरि विवादमा परेको छ।
उनी आगामी बैशाख महिनामा पोखरामा कोटीहोम (महायज्ञ) गर्ने तयारीमा छन्। यसका साथै, विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखराका ऐतिहासिक चौतारी र सार्वजनिक स्थानका रुखका हाँगा काटेर महायज्ञको तयारी गरेपछि विवादको जन्म भएकाे थियाे।
पोखरा महानगरपालिकाले सार्वजनिक स्थानमा रुख काट्ने अनुमति दिएकाे थिएन, यसैकारण नगरप्रहरीले कोटीहोमका लागि भन्दै पोखराका सार्वजनिक चौताराका वर, पिपल र समीका हाँगा काटेका दाउरा जफत गरेको छ।
मेयर धनराज आचार्यले पनि कोटीहोमको आयोजनाका लागि कुनै अनुमति नदिएको र सार्वजनिक स्थानमा कार्यक्रम गर्न असम्भव रहेको बताएका छन्।
विजय भण्डारी, जसले एक दशकभन्दा बढी समयदेखि धार्मिक कार्यक्रमको नाममा ठगीका काम गर्दै आएका छन्, यसअघि विभिन्न व्यक्तिहरूसँग रकम उठाएका थिए। उनले २०६८ सालदेखि “मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल” नामक संस्थाको माध्यमबाट ठगी सुरु गरेका थिए। विभिन्न व्यक्तिहरूसँग अमेरिकामा पठाइदिन्छु भनेर रकम असुलेका थिए, तर पछि ती रकम फिर्ता नगरी उनी फरार भएका थिए।
यसअघि, विजय कृष्णमूर्तिका खिलाफ सर्वोच्च अदालतमा ठगीको मुद्दा विचाराधीन थियो, जसमा उनले मिलापत्र गरेर पीडितलाई रकम फिर्ता गरे। तथापि, उनी पुनः नयाँ योजनासहित पोखरामा महायज्ञ गर्ने तयारीमा छन्, जसले धार्मिक कार्यक्रमको नाममा ठगीको श्रृंखला जारी राख्ने संकेत दिएको छ।
पोखरामा आयोजित कोटीहोम कार्यक्रमको उद्देश्य धार्मिक विधि पुरा गर्नु हो, तर यसका कारण रुखको विनाश र सार्वजनिक स्थानहरूको अराजक प्रयोगले जनतामा विरोध बढेको छ। पोखरा महानगरपालिकाले रुख काट्न नदिने निर्णय गरेको छ, र यस विषयमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
यस घटनाले विजय कृष्णमूर्तिको गतिविधिहरूलाई नकारात्मक दृष्टिकोणबाट मूल्याङ्कन गरेको छ, र यो पनि देखाएको छ कि धर्मको नाममा आर्थिक शोषण र कानूनी उल्लङ्घनका कार्यहरू निरन्तर भइरहेका छन्।
प्रतिक्रिया राख्नुहोस्