तपाईँ सुन्दै हुनुहुन्छः

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छ : अध्यक्ष दाहाल

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको छ । 

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशिला’ स्थापनाको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उहाँले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो ।

“भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गरेका छौँ, अब हामी समुदाय आधारित काममा केन्द्रित हुनेछौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यसका लागि आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्दैछौँ ।” उहाँले यस  अभियानले यसअघि समुदायसँग अलगअलग बनेको सम्बन्धलाई सुधार्दै आगामी निर्वाचनमा आफ्नै बलबुतामा अगाडि बढ्ने गरी सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राख्नुभयो । उहाँले ‘आधारशिला’ कम्युनको अवधारणालाई व्यवहारिक रूप दिन थालिएको एक प्रयत्न भएको बताउँदै अब देशभरिमै यस्ता प्रयत्न अघि बढाइने बताउनुभयो । “यो काम हाम्रा साथीले नेतृत्व गर्नुभएका मुलुकका १२३ स्थानीय तहबाट सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाउने छौँ । अब हाम्रो दलले सामूहिक जीवनको अभ्यास सिकाउने ‘आधारशिला’ जस्ता कम्युन मुलुकभरि नै अभियानका रूपमा अगाडि बढाइने छन् । समाजवादको आधारशिला बनाउन हाम्रा काम उदाहरणीय बन्नेछन्”, अध्यक्ष दाहालको भनाइ थियो । 

वार्षिकोत्सवमा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस इन्चार्ज मातृकाप्रसाद यादवले अब आफ्नो दल गुटपरस्त गतिविधिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।  कार्यक्रममा  ‘आधारशिला’ का परिकल्पनाकार तथा संस्थापक माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आधारशिला स्थापनाको औचित्यबारे प्रकाश पार्नुभयो ।

विसं २०५९ साल माघ २५ गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेलसहितका नेताले सहिद परिवार र पार्टीका पूर्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गर्नुभएको ‘आधारशिला’ मा अहिले १६ परिवार सामूहिक रूपमा बस्दै आएका छन् । ‘आधारशिला’ ले बर्सेनि माघ २५ गते स्थापना दिवस मनाउँदै आए पनि यसपालि प्रचण्डको अनुकूलता पार्न तीन दिनपछि कार्यक्रम आयोजना गर्नुपरेको समारोहमा जानकारी दिइएको थियो ।

माओवादी केन्द्रका नेताहरू उर्मिला अर्याल, विश्वनाथ साह र प्रह्लाद बुढाथोकीसहितको उपस्थिति रहेको समारोह अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button