प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक कामकाज ठप्प, सेवाग्राही मर्कामा

अछाम । अछामको मङ्गलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि नगरपालिकाको प्रशासनिक कामकाज ठप्प भएको छ। सेवाग्राहीहरू आवश्यक सेवा नपाउँदा मर्कामा परेका छन् ।
नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खकेन्द्र बहादुर सोडारीको जिम्मेवारी खोसिएपछि कार्यालय नेतृत्वविहीन बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ९ गतेदेखि लागू हुने गरी सोडारीलाई जिम्मेवारीबाट हटाएको थियो ।
सोडारीले सम्हाल्दै आएको आर्थिक तथा प्रशासनिक कामकाजसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गरिएको पत्राचार भएपछि मङ्गलसेन नगरपालिकामा नेतृत्व सङ्कट उत्पन्न भएको हो ।
प्रशासकीय नेतृत्व नहुँदा कार्यालयका भुक्तानी, सम्झौता, सिफारिस लगायतका कार्य ठप्प छन् । सूचना अधिकारी विष्णु जैशीका अनुसार सेवाग्राही दैनिक सेवा लिन नगरपालिकामा आउँछन्, तर कुनै पनि काम अघि नबढ्दा निराश हुँदै फर्कन बाध्य छन् ।
नगरपालिकाका मेयर पदम बहादुर बोहरा मन्त्रालयको निर्णयप्रति आक्रोशित बनेका छन् । नगर प्रमुख बोहराका अनुसार नगरपालिकामा कार्यरत ज्येष्ठ कर्मचारीहरूले निमित्तको जिम्मेवारी लिन अस्वीकार गरिसकेको अवस्थामा जिम्मेवारी सम्हाल्दै आएका सोडारीलाई हटाएर विकल्प उपलब्ध नगराउनु गैर–जिम्मेवारीपूर्ण कार्य हो ।
मेयर बोहराले मन्त्रालयलाई ७२ घण्टाभित्र रिक्त पदमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृत खटाउन पत्राचार गरिसकेका छन्। तर दुई हप्ता बितिसक्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ भएको छैन ।
निजामती सेवा नियमावली २०५० को नियम ४६ अनुसार, स्थानीय तहमा कार्यरत ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन सकिन्छ। तर मन्त्रालयले कनिष्ठ रहेका सोडारीलाई हटाए पनि नयाँ निमित्त तोकिएको छैन ।
नगरमा कार्यरत अन्य ज्येष्ठ कर्मचारीले जिम्मेवारी लिन अस्वीकार गरेको अवस्थामा मन्त्रालयले कामकाजी हाकिमको जिम्मेवारी खोसेर दरबन्दी अनुसारका कर्मचारी नखटाउँदा झन् समस्या निम्तिएको छ । नगरपालिकाका स्रोतहरूका अनुसार ज्येष्ठ कर्मचारीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ज्येष्ठ कर्मचारीले कार्यपालिका बैठकको निर्णयसहितको सिफारिस पठाउन मन्त्रालयले भने पनि नगरपालिकाले हालसम्म कुनै निर्णय गर्न सकेको छैन।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण, प्रशासनिक सेवा तथा आर्थिक कारोबार प्रभावित भएका छन्। स्थानीय सेवाग्राहीहरू आवश्यक सेवा नपाउँदा समस्यामा परेका छन्। मन्त्रालयले तत्काल दरबन्दी अनुसार कर्मचारी पठाउनु पर्ने वा त साबिककै सोडारीलाइ पुनः जिम्मेवारी नदिएसम्म नगरपालिकामा प्रशासनिक सङ्कट कायमै रहने देखिन्छ।
सोडारीसँगै उता चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाको जिम्मेवारी खोसिएकोमा उनले पुनः अख्तियारी पाइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्