सम दिवसमा स्रष्टाहरू पुरस्कृत
काठमाडौँ । नाट्य सम्राट् बालकृष्ण समको १२३ औँ जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ ।
त्रिमूर्ति निकेतनले आज एक समारोह आयोजना गरी साहित्यकारहरू प्रा. रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेन्जु शर्मालाई पुरस्कृत गरेको हो।

छ दशकदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवम् छन्द काव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिएकोमा प्रा. रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ दिइएको हो ।
नाट्य सम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्ताबेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली रङ्ग कर्मको संवर्धनमा समेत समाहित हुँदै नेपाली भाषा साहित्यको सेवामा मन, वचन र कर्मले समर्पित प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।
त्यसैगरी छ दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेन्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।
ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही एक/एक लाख रुपियाँ रहेका छन् ।
समारोहमा नारी स्रष्टा उषा शेरचनले आफ्नो कविता सुनाउनुभयो ।
समारोहमा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले पुरस्कृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्