तपाईँ सुन्दै हुनुहुन्छः

अम्मर नेम्वाङ साहित्य पुरस्कारबाट कृष्ण धराबासी र स्वप्निल स्मृति पुरस्कृत

पाँचथर ।  अम्मर नेम्वाङ लिम्बु स्मृति साहित्य प्रतिष्ठानले साहित्यकार द्वय कृष्ण धराबासी र स्वप्निल स्मृतिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

अमर नेम्वाङको छैटौँ स्मृति दिवसको अवसरमा पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी धराबासी र स्मृतिलाई नगद ५० हजार रुपैयाँका दरले पुरस्कार र सम्मान पत्रले सम्मान गरेको हो । 

प्रतिष्ठानले जिल्लामा बाढी पहिरोमा परि ज्यान गुमाएका र बेपत्ता भएका १६ जनाको परिवारलाई नगद १० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । 

यस्तै, फालेलुङमा बम विस्फोटमा परि घाइते र मृत्यु भएका परिवारलाई पनि नगद १० हजार रुपैयाँ राहत प्रदान गरेको छ । प्रतिष्ठानले बाढी पहिरो प्रकोपको बेला उद्धार कार्यमा सक्रिय रहेको भन्दै हाम्रो साहारा पाँचथरलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । 

कक्षा ११ मा अध्ययनरत छात्रा अन्जना चेम्जोङलाई छात्रवृत्ति स्वरूप १५ हजार रुपैयाँ प्रदान गरेको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष समेत बनेका स्वर्गीय अम्मर नेम्बाङ लिम्बुले दर्जनौँ लेख, कविता, संस्मरण निबन्ध लेख्नुभएको छ । नेम्वाङ जिल्लामा लिम्बु समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

नेम्वाङको स्मृतिमा २०७६ सालदेखि साहित्य क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै आएको छ । नेपाली साहित्यमा ठुलो योगदान गरेका नेम्वाङको निधन २०७५ माघ २६ गते भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button