तपाईँ सुन्दै हुनुहुन्छः

गहुँका लागि रासायनिक मलको अभाव,किसान चिन्तित 

बीरगंज । गहुँबालीका लागि  रासायनिक मलको अभाव भएपछि पर्साका किसानहरू चिन्तित भएका छन् ।  

गहुँ बालीमा अन्तिम पटक रासायनिक मल छर्ने बेलामा समेत किसानहरूले मल नपाउँदा समस्या भएसँगै किसानहरू अहिले सिमावर्ती भारतीय बजारबाट मल ल्याउन बाध्य भएका छन् । 

सिचाई पछि अहिले गहुँ बालीमा बाला लाग्ने बेला भएको र यतिखेर युरिया मल आवश्यक पर्ने जीराभवानी गाउँपालिका बाडा नम्बर –२ सेढवाका किसान रोगाही चौधरीले बताउनुभयो । गहुँको बाला लाग्ने बेला अन्तिम पटक युरिया मल छर्नु पर्ने र अहिले प्रतिकट्ठा साढे दुई किलोको दरले मल आवश्यकता पर्ने चौधरीले बताउनुभयो ।  

गहुँ बालीको लागि सुरुमा बीउ छर्दा प्रतिकट्ठा तीन किलो डिएपी र डेढ डेढ किलो युरिया र पोटास आवश्यक पर्ने र त्यसको एक महिनापछि प्रतिकट्ठा दुई किलोको दरले युरिया गहुँ बालीमा छर्दै आएको किसान चौधरीले बताउनुभयो । तीनपटक मल आवश्यक भएको बेलामा यस वर्ष पनि नेपाली किसानहरूले रासायनिक मलको अभाव झेल्नुपरेको चौधरीको गुनासो छ ।

किसानहरुले पर्सा सँग सीमा जोडिएको भारतका भंगहा, इनरवा, मैनाटाड, सिकटा लगायतका बजारबाट ४५ किलो बोराको युरिया मल  ८ सय देखि ९ सयमा खरिद गरी ल्याउने गरेका छन् ।  किसानहरूलाई एक–दुई बोरासम्म मल दुवैतर्फका सीमामा खटेका सुरक्षाकर्मीहरूले छुट दिएको भएपनी यसको फाइदा केही व्यापारीहरूले तस्करी मार्फत मल ढुवानी गर्ने र ग्रामीण भेगमा महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

पर्सा जगरनाथपुर गाउँपालिकाका किसान गिरजा महराले  भारतबाट सस्तो मूल्यमा मल ल्याएर व्यापारीहरूले महँगोमा किसानहरूलाई बिक्री गरिरहेका बताउनुभयो । उहाँले नेपालमा ५० किलो बोराको युरिया  ९५० मा बिक्री हुँदै आएकोमा भारतबाट ल्याइएको ४५ किलो बोराको मल  एक हजारसम्ममा खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

अहिले जिल्लाका अधिकांश व्यापारीले किसानको नाममा भारतबाट मल ल्याउने र महँगोमा बिक्री गरिरहेका छन् । यसतर्फ स्थानीय पालिका र सुरक्षाकर्मीहरूले ध्यान दिन नसकेका स्थानीय किसानको गुनासो छ ।

यता सेवा स्थित मारुतिनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड बीरगंजले यूरियामल मौजुदा नरहेको जानकारी दिएको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button