परराष्ट्रमन्त्री राणा र इरानी विदेशमन्त्रीबीच फोनवार्ता : विपिनको रिहाइका लागि पहल
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ । यस वार्तामा, मन्त्री राणाले हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको लागि कूटनीतिक पहल गर्नुभयो।
विपिनको रिहाइका लागि इरानी विदेशमन्त्री अराघ्चीसँग गएराति भएको कुराकानीमा, मन्त्री राणाले हमाससँग रहेका नेपाली नागरिकको रिहाइको लागि आग्रह गनुयभो ।
त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हामीले आगामी बैठकहरूमा विपिनको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको छ। इजरायल र हमासबीच युद्धविरामपछि, हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्न थालेको छ ।
नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहल निरन्तर जारी राखेको छ। मन्त्री राणाले अघिल्लो हप्तामै इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी सो अपिल गर्नुभएको थियो।
इजरायल र हमास बीच युद्धविरामको सहमति भएपछि, मन्त्री राणाले शान्तिवार्ता र मध्यस्थतामा संलग्न रहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आइरहनुभएको छ ।
केही हप्ताअघि, मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग पनि फोनमार्फत सोही अपिल गर्नुभएको थियो । । साथै, इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि इजरायलका राष्ट्रपतिसँग सो अपिल गर्नुभएको थियो ।
नेपाल सरकारले विपिनको रिहाइका लागि गत वर्षदेखि नै कूटनीतिक प्रयासहरू जारी राखेको छ। मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा पनि विपिनको रिहाइका लागि कूटनीतिक पहल गर्दैआइरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्