तपाईँ सुन्दै हुनुहुन्छः

आहा रारा पोखरा गोल्डकपः एनआरटिलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश 

पोखरा । सडेन डेथमा न्यूरोड टिम (एनआरटि) लाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ ले पराजित गरी अन्तिम आठमा स्थान बनाएको हो । 

९० मिनेटको निर्धारितमा दुवै टोलीबाट १–१ गोल र ३० मिनेटको अतिरिक्त समयमा गोल रहित बराबरीमा टुङ्गिए पछि टाईब्रेकरमा पनि दुवै तर्फ ४—४ गोल भए पछि खेल सडन डेथमा पुगेको थियो । 

चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाको सडेन डेथमा पेनाल्टी सुटमा गोल गर्दा एनआरटिका माइकल मगरले प्रहार गरेको पेनाल्टी सुटमा गोल गर्न चुक्नुभयो ।  

पेनाल्टीमा चर्च ब्वाइजका लागि पेनाल्टी सुटमा नवीन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फकुन्ले, टिकेन्द्रसिंह थापा र प्रशान्त लक्छमले गोल गर्दा सर्ज डिगा र राज भुसालको प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले बचाउनु भयो । सकल रेग्मीको प्रहार भने बाहिरिएको थियो । 

एनआरटीका लागि अञ्जन विष्ट, सुमीत श्रेष्ठ, विशाल सुनार र राजीव लोप्चनले पेनाल्टी सुटमा गोल गर्दा जन्मजय धामी, रिचर्ड विल्सन र माइकल मगरको प्रहारलाई टिकेन्द्रले उत्कृष्ट बचाउँदा एञ्जल महर्जनको प्रहार बाहिरिएको थियो । खेलको २४ औँ मिनेटमा रिचर्ड विल्सनको गोलमार्फत एनआरटीले अग्रता लिए पनि खेलको ६३औँ मिनेटमा नवीन लामाले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गरी गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा पुर्‍याउनु भयो । 

चर्च ब्वाइजले साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लबसँग अब सेमिफाइनलमा भिड्ने भएको छ ।

यसैबिच, भोलि (शुक्रबार) भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र सङ्कटा क्लब बिचको अन्तिम प्रि-क्वाटरफाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जनाउनु भयो । 

फागुन ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button